चार दिनदेखि छट्पटाइरहेकी गर्भवतीको उद्धार [फोटोसहित]
असार
११, २०७४- चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी बाजुराको गोत्रीकी
गर्भवतीलाई आइतबार विहान उपचारका लागि हेलिकोप्टरद्वारा नेपालगञ्ज
पुर्याइएको छ ।
बाजुरा सदरमुकाम मार्तडीदेखि कम्तीमा दुई दिनको दूरीमा पर्ने साविकको
गोत्री गाविस–७ मा विपन्न दलित परिवारकी ४१ वर्षीया फुलटुका ढोली सुत्केरी
हुन नसकेर छट्पटाइरहेकी थिइन् । ज्यानै जोखिममा पुगेको खबर पाएपछि जिल्ला
स्वास्थ्य कार्यालयको पहलमा आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टर गाउँमै
अवतरण गराएर नेपालगञ्ज पठाइएको जिल्ला कार्यालयका प्रमुख डा. रुपचन्द्र
विश्वकर्माले बताए ।
फुलटुकालाई बिहीबार सुत्केरी ब्यथा सुरु भएको थियो । एक दिन घरमै पर्खंदा
सुत्केरी हुन नसकेपछि उनका पति जयलाल ढोलीले दोस्रो दिन हुनी स्वास्थ्य
चौकी पुर्याएका थिए । स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले प्रसूति
गराउन नसकेर रिफर गरेका थिए । तर उनलाई अन्यत्र लैजान पारिवारिको आर्थिक
अवस्था कमजोर भएकाले त्यही थन्किएकी थिइन् । फुलटुकाको यो छैटौं गर्भ हो ।
‘हाम्रो पहलमा परिवार स्वास्थ्य महाशाखाले ४ लाख ५० हजार आर्थिक सहयोग
गर्ने आश्वासन दिएपछि फुलटुकाको उद्धार सम्भव भएको हो’, जिल्ला स्वास्थ्य
कार्यालयकी परिवार नियोजन सुपरभाइजर दुर्गा बजगाईले भनिन् । गर्भवतीलाई
उद्धार गर्न निर्वाचन सुरक्षाका लागि खटिएका नेपाली सेनालगायत
सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतले सहयोग गरेका थिए ।
No comments