उपल्लो डोल्पाको ‘मोती’ (फोटो फिचर)
नेपाल फरक भौगोलिक र सांस्कृतिक विविधता
एकै ठाउँमा पाइने देश हो । यहाँ मुटु काम्ने हिमाली क्षेत्रदेखि पसिनाले
निथ्रुक्क भइने भावर क्षेत्रसम्मको फरक भूबनौट पाइन्छ । माथिल्लो डोल्पाको
द्यो तराप गाउँ यस्तै विरलाकोटिको भूगोल हो ।
यो ठाउँ किन पनि विशेष छ भने, नेपालको सबैभन्दा उच्च स्थानमा रहेको मानव
बस्ती यही हो । अझ यहाँका अगुवा तथा पर्यटन व्यवसायी ज्याङ्बा लामा त यो
ठाउँ विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेको भनेर प्रख्यात रहेको दाबी
गर्छन् । हिमालको काखमा तथा दायाँ–बायाँ खोलाको बीचमा रहेको द्यो
तराप
समुद्री सतहबाट ४ हजार मिटर उँचाइमा अवस्थित छ । यति उच्च स्थानमा रहे पनि
यहाँ अन्न उब्जनी हुन्छ ।
यहाँको कला–संस्कृति र रहनसहन पनि आफ्नै प्रकारको छ । माथिल्लो डोल्पा जाने
पर्यटकहरुले पदयात्राका लागि द्यो तरापलाई शेष रुचाउने गर्छन् । डोल्पा
सदरमुकाम दुनैबाट ५ दिनको पैदलयात्रापछि पुगिने यो ठाउँ शिक्षा, स्वास्थ्य,
सूचना जस्ता राज्यको आधारभूत सुविधाबाट वञ्चित छ ।
आकर्षक पयर्टकीय क्षेत्र भएर पनि द्यो तराप उपेक्षामा परेको ‘मोती’ झैं
बनेको देखिन्छ । यहाँ पदयात्रामा आउने विदेशी पर्यटकले १० डलर शुल्क
तिर्नुपर्छ । पर्यटन क्षेत्रको विकासका लागि भन्दै टान, नेपाल पर्यटन
बोर्डले त्यस्तो शुल्क उठाउने गरे पनि सो रकम यो क्षेत्रमा खर्च गरिएको
देखिँदैन । पदयात्रीका लागि आवश्यक संकेत चिह्न समेत नराखिँदा पर्यटकहरु
समस्यामा पर्ने गरेका छन् ।
पर्यटकीय क्षेत्र भएर पनी पर्यटकले तिरेको पैसा स्थानीय क्षेत्रले पाउने
नगरेको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा लामाले बताए । यो
क्षेत्रका बासिन्दाको प्रमुख पेशा कृषि भए पनी त्यसबाट उनीहरुको गुजारा
चल्दैन । स्थानीयले जडिबुडीको व्यापार र यार्सागुम्बा टिपेर जीविका चलाउने
गर्छन् ।
द्यो गाउँ नौ वटा स्थानबाट आउने नाका भएकाले माथिल्लो डोल्पाको यो मुख्य
व्यापारिक केन्द्र पनि हो । यो ठाउँका बासिन्दाले अत्यावश्यक सामान
नेपालगञ्जबाट ल्याउने गर्छन् । तर, ढुवानी भाडा प्रतिकिलो २ सय १० रुपैयाँ
लाग्ने भएकाले स्थानीयहरु नजिकै रहेको सीमावर्ती चिनियाँ बजारमा भर पर्छन् ।
तर, चीनसँगको सिमाना व्यवस्थित नहुँदा वर्षको एक पटक मात्र व्यापारिक
कारोबार हुन्छ । चीनको नाका साउन अन्तिम वा भदौको पहिलो साता खुल्छ ।
द्योका बासिन्दाहरु आफूलाई वर्षभरिलाई चाहिने सरसामान त्यही बेला किन्ने
गर्छन् ।
सिमानाको रक्षक हामी नै हौं
ग्याल्बो भोटे, अध्यक्ष, द्यो तराप गाउँ
द्यो गाउँ डोल्पा आउने पर्यटकको रोजाइमै पर्छ । तर, पर्यटकीय गाउँ भएर पनि
यहाँ न्यूनतम सुविधा पनि छैन ।
सरकारी निकायले यो गाउँमा आउने पर्यटकहरुबाट शुल्क लिने गरे पनि यहाँका
लागि केही काम गरेको छैन ।
राज्यले आधारभूत सुविधाहरु समेत उपलब्ध गराउन नसक्नु दुर्भाग्य नै
मान्नुपर्छ ।
अहिलेसम्म गाउँमा जे–जति विकासका काम भएका छन्, दाताहरुको सहयोगले भएका
हुन् । नजिक पर्छ । यो ठाउँमा राज्यको उपस्थिति नै छैन । एक प्रकारले
हामीले नै नेपालको सिमानाको सुरक्षा गरिरहेका छौं ।
No comments