Header Ads

नारायणगढ-मुग्लिन सडक खण्डमा फेरी पहिरो, पहिरो पन्छाउन १६/१७ घण्टा लाग्ने

असार ११, २०७४- नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत साढे २ किलो भन्ने स्थानमा आइतबार दिउँसो पुनः ठुलो पहिरो खसेर सवारी आवागमन बन्द भएको छ । पहिरो ठुलो भएकाले पन्छाउन १६÷१७ घण्टा लाग्ने सडक आयोजनाले जनाएको छ । सवा ३ बजे पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको हो । उक्त स्थानमा ४ देखि ११ मिटर अग्लो पहिरो खस्दा सडकको ४० मिटर लम्बाई ओगटेको नारायणगढ– मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले बताए । ‘राति पहिरो पन्छाउन सम्भव छैन,’ उनले भने, ‘ठुलो पहिरो खसेकोले पन्छाएर सवारी सुचारु गर्न समय लाग्छ ।’ उक्त स्थानमा राति गएको पहिरो आइतबार बिहान पन्छाएर सवारी सुचारु गरे पनि दिउँसो ३ बजेबाट पुनः पहिरो गएकाले सवारी आवागमन ठप्प भएको हो । ‘रातिकोभन्दा ठुलो पहिरो खसेको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी दिपक थापाले भने, ‘यो पन्छाउन लामो समय लाग्न सक्छ । पहिरो पन्छाउने काममा जोखीम भएकाले आयोजनाले राति पन्छाउने गर्दैन । अहिले त्यस क्षेत्रमा ठुलो संख्यामा सवारीको लाइन लागेको छ । प्रहरी जवानको शव फेला सोही स्थानमा बिहीबार राति खसेको पहिरो पन्छाएर इलाका प्रहरी कार्यालय मुग्लिनतर्फ जांदै गरेको बा १ झ १३९० नम्बरको गाडी पहिरोसंगै २ सय मिटर तल त्रिशुली नदीमा खस्दा बेपत्ता दुई प्रहरी जवान मध्ये एकको शव फेला परेको छ । त्रिशुलीमा जिप खसेर बेपत्ता गोरखा मकैसिंहका प्रहरी जवान लीलबहादुर चेपाङको शव रजहरको देवचुली नजिक नारायणि खोलमा फेला परेको एसपी थापाले बताए । त्रिशुलीमा हराइरहेका प्रहरी जवान तनहुँका सन्दिप कार्कीको खोजी भइरहेको प्रहरीले जनायो ।

No comments

Powered by Blogger.